Follow us: Youtube Android App
Somersby Nepal
किसानको मिहिनेत बिचौलियालाई फाइदा
२८ पुष २०७३


पनौती १० का प्रयाग केसीले यो वर्ष ७० हजार रुपैयाँको मात्रै सुन्तला बिक्री गरे । गत वर्ष १ लाख ५० हजार रुपैयाँमा बिक्री गरेका थिए । ‘राम्रो सुन्तला फलेको छैन भनेर यो वर्ष आधा मूल्य पनि पाइएन,’ उनले भने, ‘व्यापारीले बगैंचामा नै आएर मोलतोल गर्छन्, दिएको भाउ लिन बाध्य छौं ।’
व्यापारीले प्रतिकेजी २५ रुपैयाँमा किसानसँग उठाएर सुन्तला ग्रेडिङ गरेर प्रतिकिलो ५० सम्ममा होलसेललाई दिन्छन् । ग्राहकले सोही सुन्तलाको मूल्य ९० देखि १ सय १० रुपैयाँसम्म तिर्नुपर्छ । किसानले फलाएका सुन्तला कालीमाटी, बल्खु, बनेपालगायतका तरकारी बजारमा व्यापारीले दोब्बर मूल्यमा बिक्री गर्ने गरेका हुन् ।

बनेपामा फलफूल पसल सञ्चालन गर्दै आएका दीपक तिमल्सिना प्रतिकेजी २० रुपैयाँसम्म नाफा गर्ने गरेको स्विकार्छन् । ‘विभिन्न मूल्यका सुन्तला लिएर आउछौं र सोही अनुसार बिक्री गर्छौं,’ उनले भने, ‘प्रतिकिलो २० रुपैयाँसम्म नाफा त खानैपर्‍यो ।’ मधेस मूलका व्यापारी सुन्तलाको मोल गर्न दसैंअघि नै बैना गर्न किसानको बगैंचामा पुग्ने गरेका छन् । पछि मूल्यमा उतारचढाव आए पनि पुरानै मूल्य पाउँछन् ।

शंखुपाटीचौरका किसान माधवप्रसाद बजगाईले सुन्तलाको स्थायी बजार नभएका कारण किसानले भने जति मूल्य पाउन नसकेको गुनासो गरे । ‘सुन्तलाको स्थायी बजार नहुँदा व्यापारीले जति भन्यो त्यतिमा बेच्न बाध्य छौं,’ उनले भने, ‘हाम्रो मिहेनतमा फाइदा भने अरूले लिन्छन् ।’

वरिष्ठ कृषि विकास अधिकृत दुर्गाप्रसाद पण्डितले सरकारले मूल्य नतोक्ने भएकाले एकरूपता आउन नसकेको बताए । ‘कृषि विकास कार्यालयले मूल्य तोक्दैन,’ उनले भने, ‘किसान आफैंले कारोबार गर्ने भएकाले मूल्य फरक पर्ने गरेको छ ।’