Follow us: Youtube Android App
Somersby Nepal
होटल बाराही अन्तर्राष्ट्रिय सूचीमा
२३ पुष २०७३


चितवन  चितवन राष्ट्रिय निकुञ्जभित्रका सात होटल बन्द भएपछि उच्चस्तरका पर्यटक नभित्रिने हुन् कि भन्ने चिन्ता भइरहेका बेला यहाँको एक होटल जिम्मेवार पर्यटन व्यवसाय गर्न सफल भएकामा अन्तर्राष्ट्रिय सूचीकरणमा परेको छ । अमेरिकी न्युज पोर्टल ‘सिएनएन’ले भूकम्पपछि थलिएको नेपालको पर्यटनलाई पुनःजागृत गर्न भूमिका खेल्न सक्ने भन्दै नेपालका पाँच बुटिक (साना) होटलको सूचीकरण गरेको छ । चितवनको मेघौलीस्थित चितवन राष्ट्रिय निकुञ्जको काखमा रहेको होटल बाराही जङ्गल लज पनि पहिलो पटक सूचीकृत रिसोर्टमा परेको छ ।

होटलका प्रबन्ध निर्देशक विप्लव पौडेलका अनुसार होटल निर्माणदेखि सञ्चालन क्रममा समेत प्रकृतिमैत्री बनाइएको छ । मौलिक कलाले सजिएको होटलमा प्लास्टिक प्रयोग गरिँदैन भने बायोग्यास प्लान्टबाट खाना पकाइन्छ । बीस बिघा क्षेत्रफलमा फैलिएको होटल परिसर हरियाली रुखबिरुवाले भरिएको छ । तीमध्ये नौ बिघामा रिसोर्टले जैविक खेती गरेको छ ।

बाराहीबाटै गैंँडालगायत वन्यजन्तु आँखै अगाडि देख्न सकिन्छ । रु ३५ करोडको लागतमा निर्माण गरी सन् २०१४ देखि सञ्चालनमा आएको होटल निर्माणका क्रममा पनि तडकभडकभन्दा प्रकृतिमैत्री सामग्री प्रयोग गरिएको प्रबन्ध निर्देशक पौडेलले बताउनुभयो ।

होटलमा उच्चस्तरका पर्यटक भित्रिने गरेका छन् । यहाँ आउनेमध्ये नेपाली र भारतीय ३० प्रतिशत तथा अमेरिकी, युरोपेलीलगायत ७० प्रतिशते छन् । रासस