Follow us: Youtube Android App
Somersby Nepal
एक लाख बाँड्न डेढ लाखको हेलिकप्टर
२७ पुष २०७३


ताप्लेजुङमा हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा बढी खर्चेर मंगलबार सेनाको हेलिकप्टर प्रयोग गरेका छन् । मन्त्री भण्डारी, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, फरेस्ट टेक्निसिएन्स एसोसिएसन अफ नेपाल (नेफ्टा) का महासचिव प्रेम सापकोटालगायत शाहीको परिवारलाई भेट्न र सहयोग रकम हस्तान्तरण गर्न नेपाली सेनाको हेलिकप्टर लिएर मंगलबार जाजरकोट गएका हुन् । 

बिहान करिब ९ बजे गएको भण्डारीको टोली साँझ पौने ५ बजे मन्त्रालय फर्किएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘हेलिकप्टर प्रयोगमा डेढ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ,’ स्रोतले भन्यो । मन्त्रालयका सहायक प्रवक्ता यज्ञनाथ दाहालले मन्त्री भण्डारी र महानिर्देशक आचार्य लगायतको टोलीले मंगलबार मृतक शाहीका परिवार बसोबास गरेको जाजरकोट पुगेर समवेदना र सहानुभूति प्रकट गर्दै एक लाख रुपैयाँ हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जनाएका छन् । 

महानिर्देशक आचार्यले सेनालाई आग्रह गरिएअनुसार हेलिकप्टर उपलब्ध भएको र परिवारलाई समवेदना एवं सहयोग रकम दिएर मंगलबारै काठमाडौं फर्किएको बताए । नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले मन्त्रालयको आग्रहअनुसार आफूहरूले प्रक्रिया पुर्‍याएर हेलिकप्टर दिएको बताए । ‘कुन काममा प्रयोग भएको हो त्यसअनुसार शुल्क निर्धारण हुन्छ,’ कार्कीले भने । मन्त्री भण्डारीले शाहीकी श्रीमतीलाई करार नियुक्तिको पत्रसमेत हस्तान्तरण गरेका छन् । ताप्लेजुङ खोक्लिङ–८ को एक सामुदायिक वनको साधारणसभामा भाग लिन खटिएका बेला पुस १७ गते बिहान खुकुरी प्रहार गरी शाहीको हत्या भएको थियो । उनलाई गत बिहीबारको मन्त्रिपरिषद्ले पहिलो वन संरक्षण सहिद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।