Follow us: Youtube Android App
३ वर्षमा १५ लुट, मुख्य अभियुक्त पटके डाँका
२७ पुष २०७३

बैंकबाट निकालेको तीन लाख ६० हजार रुपैयाँसहितको झोला काँधमा झुण्ड्याएर मनी ट्रान्सफर संचालिका गोगंबुकी यमकला भण्डारी फर्किर्दै थिईन् । मोटरसाइकलमा आएका दुई युवाले उनको काँधबाट झोला यसरी थुते, त्यसको फित्ता चुँडियो । यमकला हेरेको हेर्‍यै भइन् । झोलासहित लुटेरा एक निमेषमै फरार भइसकेका थिए । १९ मंसिरमा गोगंबुमा भएजस्तै घटना ५ मंसिरमा भक्तपुरको कटुन्जेमा पनि भएको थियो । 

मनी ट्रान्सफरबाट ७३ हजार ६ सय ६९ रुपैयाँ निकालेर घर हिँडेकी सुस्मिता सुवेदीको हातैबाट मोटरसाइकलमा आएका लुटेराले रकम खोसे र फरार भए । महानगरीय प्रहरी अपराध महाशाखाले ठ्याक्कै यस्तै शैलीमा लुटपाटको धन्दा चलाइरहेका रामेछाप दोरम्बा घर भएको सागर भन्ने टिका थापामगरलाई पक्राउ गरेको छ । महाशाखाको रेकर्डमा देखिन्छ, पछिल्ला तीन वर्षमा उनले यस्तै प्रकृतीको १५ लुटपाटका घटना घटाएका थिए ।

एउटै प्रकृतीका लुटपाटका श्रृंखलाबद्ध घटनापछि महाशाखाले पाँच प्रहरीलाई लुटेरको पहिचान गर्न खटाएको थियो । तीन महिना लामो अनुसन्धानपछि प्रहरीले पत्तो लगायो, फरक फरक स्थानमा भएका उस्तै प्रकृतीको लुटपाटका नाईके हुन, सागर भन्ने टिका थापा । २६ मंसिरमा महाशाखाका पाँच प्रहरीले दक्षिण ढोकामा हिँडिरहेको अवस्थामा सागरलाई फेला पारे । तीन तीरबाट घेरेर समात्न खोज्दा टिकाले यति धेरै बल प्रयोग गरे कि, बीच सडकमै एकछिन गतिलै धक्का मुक्का चल्यो । हिरासतमा लिएपछि प्रहरीले थापाको कोठाबाट तीन लाख नगद र चार थान मोबाईल लगायतका सामान बरामद गरेको छ ।

पुस २२ मा यिनै थापाले कौशलटारको निजी बैंकबाट ६ लाख रुपैयाँ झोलामा बोकी गठ्ठाघरस्थित घर हिँडेकी मन्दिरा अधिकारीको लेडिज ब्याग पनि लुटेका थिए । प्रहरीका अनुसार अधिकंश घटनामा टिकाले काँधमा झड्के झोला भिरेका र रकम बोकेर हिँडेका महिलालाई निशाना बनाएको देखिन्छ । महाशाखामा प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘उस्तै प्रकृतीको लुटपाटको घटनाले मशाहाखालाई समेत गम्भिर बनाएको थियो ।’