Follow us: Youtube Android App
Somersby Nepal
सुन प्रकरणः भन्सारका कर्मचारी कारबाहीमा, प्रहरी हाकिमलाई उन्मुक्ति ?
२७ पुष २०७३


काठमाडौं । नेपालभित्र सुन तस्करी र अवैध डलर कारोबार गर्ने एउटै गिरोह रहेको आशंकामा प्रहरीले अनुसन्धान तीव्र बनाएको छ । प्रहरी अनुसन्धान ब्युरोका एक अधिकृतका अनुसार ३४ किलो सुनसहित समातिएका भरियालाई डलर तस्करीमा पनि प्रयोग गरिएको पाइएको छ ।

सुन र डलर तस्करीका भरिया मार्फत मालिकसम्म पुग्ने प्रयास भने अझै सफल हुन नसकेको प्रहरी अधिकारीहरु बताउँछन् ।

गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै पार भएको ३४ किलो सुन सीआईबीले बरामद गर्‍यो । त्यस क्रममा तीन जना भरिया पक्राउ गरेको सीआईबी सुनको मालिक खोज्न सक्रिय छ ।

यति ठूलो परिमाणको सुन तस्करीमा संलग्न गिरोहको राज्यका माथिल्लै तहका व्यक्तिहरुसँग पहुँच रहेको आशंका भइरहेका बेला प्रहरीले गोप्य अनुसन्धान पनि अघि बढाएको छ ।

गृहमन्त्री विमलेन्द्र निधिदेखि आईजीपी उपेन्द्रकान्त अर्यालसम्मले सुन प्रकरणका नाइकेलाई पक्राउ गर्न निर्देशन दिइसकेका छन । सीआईबीका एक अधिकृतका अनुसार, निर्देशन जस्तै मन्त्रीको तहबाट सहयोग पनि भए सुनका मालिक पनि कारबाहीको दायरामा आउन समय लाग्ने छैन ।

पक्राउ परेकाहरुलाई सीआईबीले फरक-फरक ठाउँमा राखेर अनुसन्धान गरिरहेको छ । सीआईबी स्रोतका अनुसार समातिएका भरियाहरु सुनका साथै डलर तस्करीमा पनि संलग्न भएको खुलेको छ ।

‘डलर कति लैजान्थे भन्ने खुलाएका छैनन्, तर यो समूहले डलरको धन्दामा पनि संलग्न भएको स्वीकार गरेको छ,’ एक प्रहरी अधिकृतले भने ।

यो समूहले जुन रुट प्रयोग गरेर सुन ल्याउने गरेको थियो, त्यही रुटबाट डलर पनि लैजाने गरेको देखिएको स्रोतको दाबी छ । सीआईबी प्रमुख डीआईजी नवराज सिलवाल भने डलर तस्करीको बारेमा अहिले केही नबोल्ने बताउँछन् ।