Follow us: Youtube Android App
एक्लो छापामार
१३ कात्तिक २०७३

 दुर्गालाल केसी :
“ओई... पुलिस आयो पुलिस...”
खाना खाँदै गर्दा बाहिर कता–कता आवाज सुनिन्थ्यो । त्यसपछि खाना छाडेर उकालो दौडिहाल्थें । पुलिस देख्नु त के– पुलिस शब्द सुन्दा पनि शरीरका सबै रौं ठाडा हुन्थे ।

लगातार एक घण्टाको उकालो दौडेर रानीवनमाथि पुगेपछि तल गाउँतिर हेर्थें । कहिले टाकुराभरि छरपष्ट भएर हामीलाई खोज्दै गरेका पुलिसहरू देखिन्थे । कहिले चौकितिर फर्कंदै गरेका त कहिले आउँदै गरेका । पुलिस पछिपछि आइहाल्ला कि भन्ने डरले डाँडामा उभिएर तलतिर हेर्न पनि सकिँदैनथ्यो । खाल्डा, झाडी, ओढार खोजेर छप्किन्थें ।

लुकीलुकी राति गाउँ छिर्ने र हतार–हतार रोटी च्यापेर फेरि जंगलतिर दौडिने । कैयन् दिन र कैयन् रात यस्तै लुकाछिपीमा बिते । कहिलेकाहीँ मजस्ता अरु साथीहरू पनि हुन्थे । कहिले सल्लाह गरेर एकै ठाउँतिर सुत्न जान्थ्यौं त कहिले जंगलतिरै भेट हुन्थ्यो । न हामी युद्ध गरिरहेको माओवादीको सम्पर्कमा थियौं, न हामी पुलिसका लागि सर्वसाधारण हुन सकेका थियौं । माओवादी सम्पर्कमा नरहे पनि हामी माओवादी छापामारकै शैलीमा लुकेर हिँड्ने, लुकेर खाने र लुक्दै भाग्ने गरिरहेका थियौं । कहिले भाग्दै गर्दा साथीहरू भेटिन्थे त कहिलै एक्लै पनि भाग्नुपथ्र्यो अनि रातभर जंगलमा एक्लै सुत्नुपथ्र्यो । लाग्थ्यो– म एक्लो छापामार हुँ । देश बदल्न हिँडेको होइन, बदलिएको देशमा हिँड्न नपाएको छापामार । माओवादी छापामारको त ठूलै समूह होला । दुश्मन आए प्रतिकार गर्लान् तर मसँग न छापामार जस्तो प्रतिकारको सामथ्र्य थियो, न घरमै बस्ने सर्वसाधारणको परिचय .........