Follow us: Youtube Android App
मन, लोग्ने र ऊ
१ असोज २०७३

"नमस्ते !"
मेरो पछाडि कोही उभिएको थियो । चिनेकै जस्तो लाग्यो स्वर- फरक्क फर्किएँ ।

उही थियो ।

७ वर्षपछि उसको शारीरिक बनोट मात्र होइन, छालाको रंग पनि फेरिएको थियो। उमेरभन्दा पाको देखिएरै होला- उसमा अब ७ वर्ष अघिको आकर्षण र तेज थिएन । घामले डढेर गोरो रंग तामाजस्तै देखिएको थियो । पातलो शरीरमा बाहिर निस्किएको पेट अमिल्दो र असुहाउँदो देखिन्थ्यो । रातो/गुलाबी ओठ अहिले निलो नीलो देखिन्थ्यो । निधारमा छरिइरहने बाक्लो कालो कपालको सीमा मिचेर निधार दुईगुणा फैलिएको थियो ।

समग्रमा ऊ ठीकठाक भन्दा पनि औसत देखिन्थ्यो ।

मैले आश्चर्य मान्दै उसलाई निकैबेर हेरेँ ।

उसलाई अप्ठ्यारो लागेछ । भन्यो, "तपाईं त समयसँगै झनै सुन्दर हुनुभएछ ।"

प्रतिक्रियास्वरुप झुटै सही– उसको प्रशंसा गर्न सकिनँ ।

"घरतिर थियौ हैन ?" मैले यसरी सोधेँ–मानौ मसँग अरु केही प्रश्न थिएनन् ।

"हो । ३ दिन भयो फर्केको," उसले भन्यो ।

उसका आँखा ममाथि गढेका थिए । अप्ठ्यारो लाग्यो ।

"बूढी, छोराछोरी कता नि ?" मैले सोधेँ ।

ऊ पवनको भीमकाय कम्पनीको कामदार मात्र नभएर नातेदार पनि थियो । त्यसैले कसैसँग नसोधेरै पनि मछेउ उसका खबर आइरहन्थे, नचाहेरै पनि सुन्नपर्थ्यो मैले ।

"यतै ।" उसले अप्ठ्यारो मान्दै त्यो प्रसंगलाई टुंग्याइदियो ।

"अनुशा ! यता आऊ त !" पवनले मेरो हात समातेर आफूसँग तान्दै भन्यो, "मन्त्रीज्यू पाल्नुभा'छ ।"

म ऊसँगै तानिएँ .............