Follow us: Youtube Android App
Somersby Nepal
कोरियन ज्वाइँ
१५ साउन २०७३


ऊ दङ्ग थियो। ‘छोरीको राम्रै केटासगँ बिहे गरिदिएँछु’ भन्दै ऊ गाउँको चौतारीमा फलाक्दै पनि हिँड्थ्यो। ऊ, अर्थात् देवीलाल पाण्डेलाई राम्नाकोट वडा नं. तीनमा सबैले कोरियावाला ज्वाइँको ससुरो भनेर चिन्न थालिसकेका थिए। अझ कोरियामा श्रमिकको तलब ७.३ प्रतिशतले बढ्दा देवीलाल गाउँका दुई–चार जना बुढाहरुलाई आफ्ना ज्वाइँको बखान चुटेर वाक्क पार्थे।

एक वर्षअगाडि मात्रै उसले आफ्नी छोरी झुमाको बिहे नन्दबहादुरसँग गरिदिएको थियो। त्यतिखेर उसलाई ज्वाइँ छान्न खुब बित्यास पर्यो। गुरागाईं बाहुन बाजेले छोरीका लागि भनेर तीन जना केटाको कुरा  लिएर आएका। पहिलो केटो बोर्डिङ स्कुलको टिचर, दोस्रो केटो कोरियाको भाषा परीक्षा दिएर बसेका र तेस्रो डिग्री पढ्दै गरेका। देवीलालले पल्लो गाउँका कोरिया ग​एका केटाहरुको प्रगति देखेका थिए, सुनेका थिए।

 कोरियामा लाखभन्दा बढी कमाई हुन्छ। कोरिया ग​एका केटाहरु यस्ता हुन्छन् उस्ता हुन्छन्। आफ्ना घर परिवार​, जहानलाई जे भन्यो त्यही पुर्याइदिन्छन्। इपीएसमार्फत कोरिया ग​एका केटाहरुको बारेमा यस्तै थुप्रै कुराहरु सुन्दै आएका देवीलालले अन्तमा झुमाको बिहेको लागि कोरियाको भाषा परीक्षा दिएर बसेको केटोलाई नै पहिलो प्राथमिकतामा पार्यो।

मनमा कुनै दुविधा नराखी देवीलालले आफ्नी छोरी कोरिया जानेवाला केटोलाई नै दिने निर्णय गर्यो। अझ एकदिन बाहुन बाजेले नन्दबहादुरले कोरियाको भाषा परीक्षा पनि पास गरिसक्यो भनेर सुनाउँदा देवीलाल आफ्नो निर्णयप्रति असन्तुष्ट थियो। कोरिया जानेवाला ज्वाइँको ससुरो हुन पाउँदा ऊ गदगद भयो। त्यहि भ​एर छोरीको बिहे पनि धूमधामसँग गरिदियो। सारा गाउँलेलाई निम्त्याएर भतेर पनि खुवायो। गाउँलेहरु पनि खुसी भए......